तरुण खबर
४ माघ २०७८, मंगलवार ११:०७
२०१५ सालको आम निर्वाचनमा मुलुकभर १ सय ९ क्षेत्र थिए । जसमध्ये अहिलेको सुदुरपश्चिमाञ्चल विकास क्षेत्र (महाकाली पश्चिम) मा ९ वटा निर्वाचन क्षेत्र थिए । ती ९ वटामध्ये कैलाली र कन्चनपुरमा एउटा निर्वाचन क्षेत्र थियो । जहाँबाट नेपाली कांग्रेसका लोकेन्द्रबहादुर शाह निर्वाचित भएका थिए । पहाडतर्फ आठवटा थिए । जसमध्ये आछामको एउटाबाहेक सबै नेपाली कांग्रेसले जितेको थियो ।
यो चुनावी प्रसँग मैले ल्याउन खोज्नुको मुख्य कारण हो– आजभन्दा करीब ५० वर्ष अघि कर्णाली नदी पश्चिमको भू–भागमा जनसंख्याको वितरण कस्तो थियो भन्ने कुरा दर्शाउनु हो । त्यस क्षेत्रका पहाडी भेगमा ८ र तराईमा १ क्षेत्र थियो । अहिले तराईमा क्षेत्र संख्या बढेर ११ पुगेको छ भने पहाडमा १० क्षेत्र मात्रै छ । कैलाली र कन्चनपुरमा जनसंख्या यसरी बढेको देखिन्छ भने पहाडका जिल्लामा घटेको देखिन्छ ।
कैलाली र कञ्चनपुरका आदिवासी भनेका खस आर्य हुन् कि थारु हुन् ? भन्ने विवाद अहिले सतहमा प्रकट भएको छ । खासगरी ६ प्रदेशको सीमांकनका क्रममा यस्तो विवाद देखिएको हो । यो विवादलाई किनारा लगाउनका लागि यस क्षेत्रको ऐतिहासिकतामा जानुपर्ने हुन्छ । नेपाल एकीकरण पूर्व यो भू–भाग डोटी राज्यअन्तर्गत पर्दथ्यो । डोटीका राजाले यस क्षेत्रलाई चार–पाँचवटा इलाकामा बाँडेका थिए । जसमध्ये अहिलेको टीकापुरलाई मल्लबाडा भनिन्थ्यो । मल्लबाडाभन्दा पूर्वतर्फको भू–भागलाई बोगटान भनिन्थ्यो । बोगटीहरु मल्ल राजाका सरदारहरु थिए । यस बापत उनीहरुलाई पूर्वी कैलाली दिइएको थियो । यसैगरी अहिलेको कन्चनपुर क्षेत्रलाई रैकावार तप्का भनिन्थ्यो । डोटीका राजालाई स्थानीय भाषामा रैका भनिन्थ्यो । त्यस क्षेत्रमा सिंहदेव पाल, ब्रह्मदेव पालजस्ता ठाँउहरु पनि छन् जो डोटीकै राजाका नामबाट रहेका ठाउँहरु हुन् ।
नेपाल एकीकरणका क्रममा बहादुर शाहले डोटी राज्यलाई नेपालमा मिलाउने क्रमममा कैलाली कञ्चनपुरलाई पनि मिलाएको देखिन्छ । त्यतिबेला कैलाली कञ्चनपुरमा खासै स्थायी बसोवास थिएन । पहाडबाट पशु पालकहरु त्यहाँ पुगेर गोठ बनाएर बस्थे भने भारतबाट राना थारुहरु अहिलेका राउटेजस्तै फिरन्ता जीवन बिताउँदै कहिले काहिँ त्यस भू–भागमा आँउथे । यो भू–भागमा सबैभन्दा पहिले स्थायी रुपमा बसोवास गरेको पहाडका मान्छेले नै हो ।
सन् १८१६ मा भएको सुगौली सन्धिबाट गुमेको यो भू–भागलाई १९५७ मा जंगवहादुर राणाले अंग्रेजहरुबाट फिर्ता ल्याए । यसलाई नयाँ मुलुक भनिन थालियो । नयाँ मुलुकअन्र्तगत बबईदेखि महाकालीसम्म निकै ठूलो जंगल थियो । उक्त जंगल फडानी गर्नका लागि जंगबहादुर राणाले कोइलर भन्ने अंग्रेजलाई ठेक्का दिए । त्यस क्षेत्रको सबै काठ भारत लगियो । यसपछि आवादी सुरु भयो । उत्तरको क्षेत्रमा त पहाडका मानिसको बसोबास शुरु भइसकेको थियो । दक्षिणको क्षेत्रमा बस्ती बसल्नका लागि जिमिन्दारहरुलाई राणाहरुले ठेक्का दिए । जिमिन्दारहरु कोही राणा थिए, कोही ठकुरी थिए, कोही क्षेत्री थिए, कोही बाहुन थिए, कोही महतो (थारु) थिए, कोही चौधरी थारु थिए । जमिन्दारहरुले आवादी गर्ने क्रममा विभिन्न ठाउँबाट मान्छे लगे । जसमध्ये दाङ क्षेत्रबाट पनि उल्लेख्य रुपमा थारुहरु लगियो । जसलाई डगौरा थारु भनिन्छ । डगौरा थारुहरु पहाडीयाभन्दा निकै पछि कैलाली र कञ्चनपुरमा बसोबास गर्न थालेका हुन् । तर राना थारु चाहिँ फिरन्ते नै भए पनि पहाडीयाहरुसँगै यस क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ । तर राना थारुहरु धेरैजसो भारतमै छन् । नेपालमा त नगन्य मात्रामा छन् ।
खासगरी धेरैजसो दगौरा थारुहरु २०२१ सालमा औलो उन्मुलनपछि कैलाली कन्चनपुरमा बसोवास गर्न थालेका हुन् । थारुहरुसँगै मुलुकका सबै जिल्लाका मान्छेहरुको बसोवास कैलाली कन्चनपुरमा हुन थाल्यो । २०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सक्रियतामा पूर्व पश्चिम राजमार्गको निर्माण सम्पन्न भएपछि र कर्णाली नदीमा पूल बनेपछि कैलाली कन्चनपुर क्षेत्रमा शहरीकरण सुरु भयो । मुलुककै आकर्षक बसोवास स्थलका रुपमा यो क्षेत्र विकास भयो ।
तर प्रदेशको सीमांकनको समाचार दिने क्रममा केही मिडियाहरुले कुरा बुझेको देखिएन । कैलाली–कन्चनपुर भनेको थारुकै पुरानो थातथलो हो भन्ने प्रचार प्रसार भयो । जो आपत्ति जनक छ । थारुहरुको थात थलो भनेको दाङको आसपास हो । त्यहाँका दैङीशरण भन्ने थारु राजालाई सल्यानी राजाले बन्दी बनाएर दाङ कब्जा गरेको इतिहास छ । सल्यान राज्यअन्तर्गत रहेको दाङलाई बहादुर शाहले नेपालमा मिलाएका हुन् । जहाँसम्म कैलाली–कन्चनपुरको कुरा हो, त्यहाँ ५० प्रतिशतभन्दा बढी बाहुल्यता कुनै जातिको छैन । सबै जातिको फुलबारी हो यो क्षेत्र । ऐतिहासिकताको आधारमा भन्ने हो भने डोटी राज्य र ती राजाका भाइभारदारहरुको विर्ता थियो यो क्षेत्र ।
मैले अहिले के देखिरहेको छु भने जो मधेसी २०३६ साल वा त्यसभन्दा पछि नेपाल प्रवेश गरेर नागरिकता लिएका छन्, तिनीहरु नै अधिकार चाहियो भन्दै बढी आन्दोलित भएका छन् । थारुको हकमा पनि त्यही देखिएको छ । कैलाली कन्चनपुरमा पनि दाङबाट २०२१ साल अघि आएका थारुहरु पहाडियासँगै मिलेर बसेका छन् । २०३६ सालसम्म आएका थारुहरु पनि सहिष्णु छन्, तर त्यसपछि आएका थारुहरुलाई भने छुट्टै राज्य चाहिएको दावी गर्छन् ।
पूर्व सांसद मञ्चका तर्फबाट चार प्रदेशको अवधारणा हामीले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई पेश गरेका थियौं । यसरी सीमांकन गर्दा ठीक हुन्छ भन्ने मेरो अवधारणा हो । त्यो अवधारणा अन्तर्गत महाकाली, सेती, कर्णाली र भेरीलाई एउटै प्रदेशमा राखिएको थियो । अहिले करिव–करिव त्यसरी नै सीमांकन भएको छ । अहिले यी चारवटा अञ्चल भएको क्षेत्र पहिलेदेखि नै सुदुरपश्चिम नै थियो । हामीले विद्यार्थी राजनीति गर्ने क्रममा यी चारवटा अञ्चल रहेको भू–भागलाई एउटै क्षेत्र मानेका थियौं । २०२५ सालसम्म शेरबहादुर देउवा त्यो क्षेत्रको अध्यक्ष हुनुहुन्थ्यो । अन्य ऐतिहासिक आधार तथा प्रमाणले पनि यी चारवटा अञ्चलको एउटा प्रदेश अत्यान्त वैज्ञानिक हुन्छ । थारु जातिका लागि विशेष संरक्षण क्षेत्र दिनुपर्छ ।
(पूर्व सांसद तथा नेपाली काँग्रेसका नेता हिरादत्त भट्टसँगको कुराकानीमा आधारित)


