तरुण खबर
२४ फाल्गुन २०७७, सोमबार १०:०६
हाल विश्वमै नरहेको एकै स्थानमा हिन्दु मुस्लिम सन्तको संयुक्त मिजार धेरैका लागि मुसबेटवा बाबा र केहीका लागि मसकटिया बाबाका नामले प्रसिद्ध छ । मुसबेटवा बाबा कि मसकटिया बाबा ? यो विषयमा चर्चा गर्नु अत्यन्तै सान्दर्भिक हुने देखिन्छ । मुसबेटवा बाबा वा मसकटिया बाबाको आगमनलाई ७५ वर्षअघिको मात्र घटना मान्ने हो भने यी बाबा भारत, पाकिस्तान वा बंगलादेशी नागरिक थिएनन् भन्ने कुरा स्वतःसिद्ध हुन्छ । भारत सन् १९४७ मा स्वतन्त्र भएको हो । त्यसअघि भारत विभिन्न राज्य रजौटाहरूमा विभाजित थियो । स्वतन्त्र रूपमा भारत पाकिस्तान र बंगलादेशसमेत थिएनन् ।
हालको सिन्ध क्षेत्र (पाकिस्तानको कराँचीसहित सिन्ध प्रान्तका र भारतको पञ्जाव प्रान्तका केही इलाकासहित) राजा रजौटाहरूबाट इस्ट इन्डिया कम्पनीले आफ्नो नियन्त्रणमा लिएको थियो । यो सिन्ध क्षेत्रमा मुसलमानहरूको एक थर छ, मसकटिया । यी बाबालाई मसकटिया थर भएको मान्ने हो भने बाबाको उद्गम सिन्ध प्रान्तमा रहेको स्पष्ट हुन्छ र इतिहासको नजिक पुगिन्छ । यी सन्त फकिर सिन्ध प्रान्तबाट घुम्दैफिर्दै र ज्ञानको खोजीमा हालको खजुरामा आएको हुन सक्ने सम्भावना प्रबल छ ।
केही व्यवसायी मसकटिया यही प्रान्तबाट अंग्रेजकालमा कोलकाता भित्रिएको र भारत विभाजनपछि कराँची गएका थिए । अन्यत्र नभित्रिएर सिन्ध प्रान्तमै रहेका मसकटियाहरू मुस्लिम हुन् । भारतका कुनै पनि स्थानमा वा पाकिस्तानका कुनै पनि ठाउँमा रहेका मसकटिया सिन्धी हुन । धेरै सिन्धी हिन्दु पनि छन्, तर मसकटिया हिन्दु छैनन् । सिन्ध प्रान्त संसारको सबैभन्दा पुराना र समृद्ध मानवीय बसोबास भएको स्थानमध्येको एक हो । यो प्रान्त आफ्नो विशेष भक्ति भजन सुफी संगीतका लागि समेत प्रसिद्ध छ । इतिहास हेर्ने हो भने सुफी र फकिर फरक ढंगका, तर समान उद्देश्यका लागि प्रेरित देखिन्छन् । जुन तत्कालीन समयमा समृद्धिका कारण सिन्धमा सम्भव थियो । यसैगरी, सुफीको परम्परागत घार काफी संगीत हो । यो पनि सिन्धकै उपज हो । सिन्ध क्षेत्र धेरै फकिर, सन्त, कवीर र संगीतज्ञहरूको भूमि मानिन्छ ।
फकीर अरबी शब्द फकरबाट आएको हो, जसको शाब्दिक अर्थ गरिब हो । यसैले इस्लाममा सुफी सन्तहरूलाई फकिर भनियो किनकि उनीहरूमध्ये पूर्व र दक्षिण एसियामा गरिब र पीडादायी जीवन बिताउने आमजनताको भलाइका लागि प्रयास र प्रार्थना गर्थे ।
पछि, यो शब्द उर्दू, बंगाली र हिन्दी भाषाहरूमा पनि प्रचलित भयो र यसको शाब्दिक अर्थ भीख मागेर वा भीक्षा ग्रहण गरेर जीवन चलाउने व्यक्ति भयो । जसरी हिन्दुहरूमाझ बौद्ध भिक्षुले तथा स्वामी र योगीहरूले सामाजिक ओहोदा पाउँथे, त्यस्तै मुस्लिमहरूमा पनि फकिरहरूलाई समान दर्जा दिइन्थ्यो । यति मात्र होइन, इतिहासकारहरूले युनानी सभ्यताको आधारमा इशापछिको चौथो शताब्दीताकाका नागा र मुगलकालका फकिरहरूलाई समान सम्मान दिएका छन् ।
सम्भवतः यी बाबा मसकटिया एक फकिर र सन्त थिए । ज्ञानको खोजीमा यी सन्त, सिन्धबाट बाबा मसकटिया भएर नेपाल आइपुगे । यहाँ आएपछि अपभ्रंश हुँदै गएर यिनको नाम मुसबेटवा रहन गएको सम्भावना प्रबल देखिन्छ, किनकि नजिकैको नेपालगन्ज र लखनउमा समेत मसकटिया भेटिँदैनन् । नेपालका र भारतका धेरै मुस्लिमलाई मसकटिया थरबारे जानकारी छैन । तर यो यथार्थ हो । मसकटिया बाबासँगै चिहान रहेको यादव थरका हिन्दुको नाम कसैलाई थाहा छैन । अनुमान मात्र गर्ने हो भने यी हिन्दु सन्त बटोही, बेटवा वा बिदुवा यादव जस्ता नामका हुन सक्छन् । प्रकारान्तरमा यी दुवै बाबालाई संयुक्त सम्बोधन गर्दा मसकटियामा बटोही,बेटवा वा बिदुवा जोडेर मुसबेटवा नाम रहन गएको सम्भावना छ । तर यीबाहेक बाबाको नाम मुसबेटवा हुनाका वैज्ञानिक र तथ्यगत मौखिक प्रमाणसमेत फेला परेको छैन । मसकटिया, इतिहास बोकेको सिन्धी हो । मुसबेटवाको इतिहास भेटिँदैन । अनुमान गर्ने हो भने मजारमा रहेका मुस्लिम सन्त मसकटिया नै हुन् । यदि मुसबेटवा हो भने दुवै सन्तको नाम जोडेर बनाइएको नाम हो भन्ने बुझ्नु पर्दछ ।
संसारकै अत्यन्तै दुर्लभ र उदाहरणीय यो ठाउँको विकासका लागि गाउँपालिकाले गुरुयोजना बनाउने तयारी गरिरहेको छ । यो स्थानको व्यापक प्रचारप्रसार गर्न सकिए यहाँ आउने पर्यटक र श्रद्धालुले समग्र खजुराको भविष्य नै उज्ज्वल र बन्न सक्ने निश्चित छ । यसका लागि तत्काल मसकटिया ताल र चौरको संरक्षण, मसकटिया क्षेत्रको बृहत्तर विकास र मसकटिया बाबाको मजारको भव्य पुनर्निर्माण लागि अघि बढ्नुपर्ने आवश्यकता गाउँपालिकाले महसुस गरेको छ । हिन्दु र मुस्लिमबीच देखिने अतुलनीय सौहार्दता र भाइचाराको अनुपम उदाहरण प्रस्तुत गरिरहेको मिजार क्षेत्रलाई सभ्य र भव्य बनाउन गाउँपालिकाले अध्ययन अनुसन्धान सुरु गरिसकेको छ ।
शेक्सपियरको विश्व प्रसिद्ध नाटक रोमियो एन्ड जुलियटमा, जुलियटको एउटा भनाइ छ, नाममा के छ ? जसलाई हामी गुलाब भन्छौं, कुनै पनि अन्य नामले पुकारौ मिठो सुवास नै मिल्नेछ ।
(बाँके, खजुरा गाउँपालिकाले प्रकाशित गरेको पुस्तकबाट)


