तरुण खबर
९ माघ २०७८, आईतवार १८:११
काठमाडौ । पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले आइतबार अपरान्हमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १७ हजार ४३७ वटा नमुना परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
मन्त्रालयका अनुसार १३ हजार ३७७ जनामा गरिएको पीसीआर परीक्षणमा पाँच हजार ५९८ जनामा र चार हजार ६० जनामा एन्टिजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको ७७ हजार ४० रहेको छ । पछिल्लो २४ घण्टामा १४१६ जना डिस्चार्ज भएका छन् भने मृत्यु चार जनाको भएको छ ।
८८ प्रतिशतलाई ओमिक्रोन
नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लोपटक गरिएको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए । ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रमितमध्ये ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो,’ उनले भने, यसले संक्रमितमध्ये ८८ प्रतिशत ओमिक्रोन रहेको देखायो ।’
३२ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन देखिँदा चारवटामा भने डेल्टा भेरियन्ट रहेको सहप्रवक्ता डा अधिकारीले जानकारी दिए ।


