आज महाशिवरात्री, पशुपतिमा दर्शनार्थीको भीड

आज महाशिवरात्री, पशुपतिमा दर्शनार्थीको भीड तरुण खबर २७ फाल्गुन २०७७, बिहीबार १५:४६
आज महाशिवरात्री, पशुपतिमा दर्शनार्थीको भीड

काठमाडौं । भक्तजनको सुविधाका लागि बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । यस वर्ष कोरोना महामारीको जोखिम कायमै रहेकाले आठ लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । विगत वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए ।

महाशिवरात्री हिन्दुहरूको प्रमुख चाडहरुमध्ये एक हो, चन्द्रमासको चौधौ दिन अर्थात नयाँ चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्री भनिन्छ । यो भगवान शिवको प्रमुख पर्व पनि हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्रि, सुखरात्रि र शिवरात्री नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । यसै रात वैज्ञानिक रुपमै पनि पृथ्वीको उत्तरी ध्रुव यस्तो तरिकाले रहन्छ कि पृथ्वीमा रहेका जीवहरुमा शक्ति अनि गुरुत्वाकर्षणको असाधारण बहाव रहन जाने प्रमाणित भएको छ । शायद यसै कारणले होला यस दिन प्रकृतिलेनै मानिसलाई अध्यात्मिक पक्षतर्फ तान्ने विश्वास गरिन्छ । कोभिड–१९ को कारण पशुपतिमा दर्शन गर्न जाने कम देखिने अनुमान विपरित भिड बढ्दै गएको छ । भारतदेखि जोगीहरु आएका छन् । यस वर्ष पहिलेजस्तो भारतीय दर्शनार्थी आएका छैनन् ।

यसै अध्यात्मिक शक्ति, आकर्षण अनि जागरणलाई आफ्नो शरीरमा वहने दिनको वैज्ञानिक रुपमा महत्व छ । आज रातभरि जाग्राम बसेर शिवरात्री मनाईने सांस्कृतिक चलनलाई वैज्ञानिक रुपमा पनि ब्याख्या गरिएको छ । शिवरात्रीमा हामी बसिरहेको समाजभन्दा परको अध्यात्म अनि सन्यास जीवन व्यतित गरिरहेका साधूहरु भारत र नेपालका विभिन्न भागहरुबाट पशुपतिनाथ दर्शन, भ्रमणका लागि आउने गर्दछन् । फर्कने बेला उनिहरुलाई पशुपती विकास कोषले दक्षिणा अनि भेटी सहित औपचारीक विदा दिने चलन पनि छ ।

सेना स्थापना दिवस
यही शिवरात्रीका दिन नेपाली सेनाले आप्mनो स्थापना दिवस मनाउने गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन् । नागरिकको आस्था र भरोसाको केन्द्रबिन्दुका रुपमा रहेको नेपाली सेनाको राष्ट्रपति परमाधिपति हुन् । समारोहमा राष्ट्रपतिबाट नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही वार्षिक–२०७७ लोकार्पणका साथै ‘फ्रि–फल जम्प’मा प्रथम र द्वितीय हुनेलाई पुरस्कार वितरण हुनेछ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म ४३ शान्ति मिसनमा रही एक लाख ३५ हजार ४१ सैनिकबाट विश्व शान्तिका लागि योगदान भइसकेको छ ।

विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ६८ सैनिकले जीवन बलिदान दिइसकेका छन् भने ६६ सैनिक गम्भीर घाइते छन् । विश्वमा हाल खडा भएका १२ शान्ति मिसनमा ८७ महिला सैनिकसहित पाँच हजार १३९ हजारको सङ्ख्यामा नेपाली शान्ति सैनिक परिचालित छन् ।

इस्ट इण्डिया कम्पनीले भारतका अधिकांश ठाँउहरु कव्जा गर्दैगर्दा यता नेपालका राजारजौटाहरुलाई नेपालीपनाको एकै आधारमा पृथ्वी नारायण शाहले एकीकृत गर्दै आएका हुन् । नेपाली सेनाको शुरुवात र सस्थागत अभ्यासको लागि एकीकरण प्रक्रिया नै एउटा महत्वपूर्ण बिन्दु मानिन्छ । गोर्खाका सेना बाहेक पनि एकीकरणमा सहयोग गर्न पृथ्वी नारायण शाहले भारतीय भूमिसँग नाता गाँसेर यूद्धका सामान अनि हतियार मगाएको देखिन्छ, नेपाली सेनाको रणकौशलताको शुरुवाती दिनहरु त्यहीवाट शुरु भएको मानिन्छ ।

ब्रिटीशहरुले गोर्खाली सेनाका बिरुद्धमा बिभिन्न यूद्धहरु लडेका ब्रिटीशहरुले गोर्खाली फौजको अदम्य साहस देखेर पछि आफ्ना सैन्य दस्तामा नेपाली फौज भर्ती लिन थालेको हो । तर नाम भने गोर्खा नै रह्यो, यसैकारणले पनि नेपाली सेनालाई बिदेशमा गोर्खाका नाममा चिनिन्छ । गोर्खाबाट शुरु भएको एकीकरणको आगो र धागो आजसम्म पनि नेपाली सेनाले ज्वलन्त बनाएर हिँडेको छ । सन् १७४४ बाट आजसम्म पनि नेपाली सेनाले अबिछिन्न राष्ट्रप्रेम अनि साहस प्रदर्शन गरिरहेको छ । बिश्वयूद्ध देखि गृहयूद्धसम्म देशलाई अफ्ठेरो परेको बेला सेनाको सक्रियता देखिएको छ ।

शिवजीको प्रिय वस्तु
व्रत उत्सवमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी “ऊँ नमः शिवाय“ मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन र शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ । शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । शिवरात्रिमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ । अघोर मूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेव मूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रिलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् ।

फाल्गुण कृष्ण चतुर्दशीमा शिवरात्रि पर्व मनाइन्छ । सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि कालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए । प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन् । यसैकारण यस पर्वलाई महाशिवरात्रि अथवा कालरात्रि भनिन्छ । तीनै लोककी अपार सुन्दरी तथा शीलवती गौरीलाई अर्धाङ्गिनी बनाउने शिव प्रेत र पिशाचहरूबाट घेरिएर बस्ने गर्दछन् । उनको रूप बडो विचित्रको छ । शरीरमा मसानको भस्म, गलामा सर्पहरूको हार, कण्ठमा विष, जटाहरूमा जगत–तारिणी पावन गङ्गा तथा मस्तकमा प्रलयङ्कर ज्वाला छ । साँढेलाई वाहनको रूपमा स्वीकार गर्ने शिव अमङ्गल रूपमा रहेर पनि भक्तहरूलाई मङ्गल प्रदान गर्दछन र श्रीसंपत्तिका दात मानिन्छन् ।