जनमत पार्टीले पुनः सुरु गर्‍यो राजमार्ग केन्द्रित आन्दोलन

जनमत पार्टीले पुनः सुरु गर्‍यो राजमार्ग केन्द्रित आन्दोलन तरुण खबर २० माघ २०७८, बिहीबार १५:४४
जनमत पार्टीले पुनः सुरु गर्‍यो राजमार्ग केन्द्रित आन्दोलन

जनकपुरधाम । किसानको मुद्दा सम्बोधन गराउन भन्दै आन्दोलन गर्दै आएको जनमत पार्टीले आज (बिहीबार)देखि पुनः राजमार्ग केन्द्रित आन्दोलन सुरु गरेको छ । मधेश प्रदेशका सबै जिल्लामा राजमार्ग अवरुद्ध गरी जनमतका नेता-कार्यकर्ता बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

जनमतको प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्गमा सवारीसाधन चल्न सकिरहेको छैन । पार्टीले बिहीबार राजमार्ग केन्द्रित आन्दोलन गर्नुअघि हिजो (बुधबार) साँझ मसाल जुलुस प्रदर्शन गरेको थियो । पार्टीले पहिला नै राजमार्गमा आन्दोलन गर्ने बताएपछि बिहीबार राजमार्गमा अत्यन्तै कम सवारी सञ्चालन भएका छन् ।

मधेश प्रदेशका प्रहरी प्रवक्ता एसपी तुलबहादुर कार्कीका अनुसार जनमत पार्टीका कार्यकर्ताले राजमार्ग अवरुद्ध गरे लगत्तै पुग्ने प्रहरीले अवरोध हटाइरहेको बताए । उनले अवरोध हटाउने क्रममा सिरहाबाट १० र धनुषाबाट १० जना गरी २० जना कार्यकर्तालाई नियन्त्रणमा लिइएको बताए ।

किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने, किसान कार्ड वितरण गर्नुपर्ने, बालीको बीमा गर्नुपर्ने, किसानलाई निःशुल्क विद्युत् उपलब्ध गराउनुपर्ने, बाली नष्ट हुँदा राहत दिनुपर्ने, कृषि उपजको मूल्य निर्धारण गर्नुपर्नेसहितका माग राखेर पछिल्लो एक महिनादेखि आन्दोलन गर्दै आएको छन् ।

कांग्रेसको संस्थागत विकासका लागि ५० लाखको अक्षयकोष
बाग्लुङ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तिब्रता दिएको छ । कांग्रेस बागलुङ क्षेत्र नं १ ले रु ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई तिब्रता दिएको छ । एक महिनादेखि आर्थिक सङ्कलन अभियानमा जुटेकामा अहिलेसम्म रु २० लाख सङ्कलन भएको कांग्रेसका क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिए ।

उनले व्यवस्थित कार्यालय, दक्ष कर्मचारी व्यवस्थापन, प्रत्येक सदस्यको अभिलेखीकरण, समाजिक सञ्जालमा अपडेट, नियमित बुलेटिन प्रकाशन, इतिहासको खोजी, भविष्यको परिकल्पना, प्रभावकारी सञ्चार, प्रशिक्षण कार्यक्रम सञ्चालन, जनता र विकास जोड्ने अभियान सञ्चालन, भातृ तथा शुभेच्छुक र पार्टीका सबै तहसँग नियमित सम्पर्क तथा समन्वय र सहकार्यका लागि अक्षकोष स्थापना गर्न थालेको शर्माले बताए ।