तरुण खबर
२९ फाल्गुन २०७७, शनिबार १७:१५
केपी ओली, शेरबहादुर देउवा, महन्थ ठाकुर, माधवकुमार नेपाल र प्रचण्ड
काठमाडौं । सर्वोच्च अदालतको आदेशले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएपछि नेपालको राजनीति अप्रत्याशित मोडमा प्रवेश गरेको छ । माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा नयाँ सत्ता गठबन्धन निर्माणको साँचो नेपाली काँग्रेस र तराई केन्द्रित दलको हातमा पुग्ने अनुमान गरिएको छ । हुन त केपी शर्मा ओलीले सत्तामा रहिरहन जनता समाजवादी पार्टी नेपाल (जसपा) लाई रोजेको देखिन्छ । ओली इतरको गठबन्धन निर्माणका लागि पनि नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपा एक ठाउँमा उभिनुपर्ने अबस्थामा को प्रधानमन्त्री बन्ने भन्ने नयाँ विवाद सिर्जना हुने देखिन्छ ।
प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, महन्थ ठाकुर, एमालेकै माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको नाम पनि आएको छ । काँग्रेस सभापति देउवाको नाम सर्वाधिक चर्चामा छ । किन भने पार्टीभित्रका असहमत पक्ष रामचन्द्र पौडेललगायतका नेताले देउवाको नाममा सहमति जनाउने सम्भावना बढ्दै गएको छ । माओवादी केन्द्रले ओली सरकारलाई दिइआएको समर्थन फिर्ता लिने सुइको पाए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफरिस गर्ने सम्भावना पनि छ । राजनीतिक विश्लेषकहरूले पछिल्लो घटनाक्रमले नेपालका वामपन्थी शक्तिलाई तात्कालिक र दीर्घकालीन हिसाबले क्षति पुग्ने आकलन गरिरहेका छन् । पछिल्लो राजनीतिक परिस्थितिमा को नेता कस्तो स्थितिमा छन् त ? तरुणले गरेको विश्षण यस्तो छ–
प्रधानमन्त्री केपी शर्मा ओली: प्रधानमन्त्री केपी शर्मा ओलीसँग एमाले ब्युँतिएपछि १२१ जना सांसद रहेका छन् । उनी एमालेको संसदीय दलको नेता पनि हुन् । तत्कालीन नेकपा विभाजन उन्मुख रहँदा कमजोर देखिएका ओलीको अवस्था एमालेको संसदीय दल र केन्द्रीय समिति दुवैमा बलियो छ । प्रधानमन्त्री ओलीले जसपासँग मिलेर सरकार बनाउन खोजैझै देखिन्छ । तर जसपाका नेता महन्थ ठाकुर आफैं प्रधानमन्त्री बन्ने प्रयासमा छन् । एमालेका १२१ र जसपाका ३४ सांसद जोड्दा १५५ जना हुन्छन् । दुई जना निलम्बन र एक जनाको निधन भएपनि सरकार बनाउन पर्याप्त संख्या पुग्छ । यद्यपी पहाडलाई चिढाएर नेता ठाकुरलाई प्रधानमन्त्री बनाउन असम्भव जस्तै छ । दोस्रो सम्भवना प्रधानमन्त्री ओलीले कुनै पनि दलले सरकार बनाउन नसक्ने परिस्थिति देखिएको भन्दै फेरी संसद विघटन गरी निर्वाचनमा जाने निर्णय लिन सक्छन् । यसर्थ राष्ट्रिय राजनीति अहिले पनि ओलीकै वरिपरि घुमिरहेको छ । २३, फागुनको सर्वोच्च अदालतको फैसलाले ओलीलाई अनुकूलतामा पारिदिएको छ । आज शनिबार जसपासँग निर्णायक वार्ता गरिने ओली निकट सदश्यहरुले बताएका छन् ।
माओवादी केन्द्रले ओली सरकारलाई दिइआएको समर्थन फिर्ता लिने सुइको पाए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफरिस गर्ने सम्भावना पनि छ ।
शेरबहादुर देउवा: नेकपा एकीकरण अघिको अवस्थामा फर्कदा नेपाली काँग्रेस र त्यसमा पनि उक्त दलका सभापति शेरबहादुर देउवालाई राजनीतिक रूपमा फाइदा पुगेको धेरैले बताइरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका नेताहरुले देउवा निवासमै पुगेर प्रधानमन्त्री बनी दिन उनलाई आग्रह गरेका छन् । उनीहरु मिले भने सरकार बनाउन संख्या पुग्ने कुरामा कुनै शंका छैन । तीन दलको सांसद संख्या १४१ हुन्छ । त्यस्तै राजनीतिशास्त्री लोकराज बराल भन्छन्– सरकार निर्माणमा अहिले नै प्रस्ट चित्र नदेखिए पनि अहिलेको विभाजनले चुनावसम्म पुग्दा नेपाली काँग्रेसको अवस्था राम्रो हुनसक्छ । यो बेला काँग्रेसको छवि पनि खासै बिग्रिएको छैन । नेपाली काँग्रेसले पर्ख र हेरको रणनीति लिइरहेको छ । चुनाव हुने भयो भने चुनावसम्म दलको महाधिवेशन नगरौँ भनेर सार्ने बाटो खोज्ने र त्यसपछि चुनावबाट ठूलो पार्टीको नेताका रूपमा सरकार बनाउँछु भन्ने सम्भावना पनि छ । अहिले नै प्रधानमन्त्री बन्छु भन्दा पनि एमालेले पनि देउवालाई प्रधानमन्त्री बनाउने सम्भावना छ । त्यो भएन भने अर्को तीन वटा दललाई मिलाउन सके भने पनि देउवा तत्कालै प्रधानमन्त्री बन्न सक्छन् । देउवालाई राजनीतिक लाभ यो घटनाले दिएको छ । विपक्षी दल भए पनि ’प्रतिपक्षको भूमिका’ नखेलीकनै देउवाले अहिले नयाँ सरकार गठनमा एक किसिमको निर्णायक भूमिका पाएको विश्लेषकहरुले बताएका छन् । प्रतिनिधि सभामा नेपाली काँग्रेसको ६३ सिट रहे पनि काँग्रेसका एक जना सांसद अफताव आलम जेलमा छन् भने अर्का सांसद विजयकुमार गच्छदा निलम्बित रहेका छन् । यद्यपी माधव पक्षका सांसदले देउवालाई सरकार बनाउन सहयोग गर्ने अनुमान गर्न सकिन्छ ।
महन्थ ठाकुर: पछिल्लो सत्ता समिकरणको अंक गणितले जनता समाजवादी पार्टीलाई कि कार्ड खेलाउने अबसर दिएको छ । सत्ता गठबन्धन बनाउन जनता समाजवादी पार्टी नेपालका नेताहरूसँग प्रधानमन्त्री केपी शर्मा ओली र उनका निकटवर्तीहरूले छलफल थालिसकेका छन् । जसपाका शिर्ष नेता महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँग मिलेर सरकार बनाउने पक्षमा रहेका छन् भने जनता समाजवादी पार्टीका नेताहरु उपेन्द्र यादव, शरदसिंह भण्डारीलगायतका नेताहरु ओली नेतृत्वका सरकामा जानै नहुने तर्क गर्छन् । उपेन्द्र यादव समूह जसपामा अत्यन्तै कमजोर छ । उपेन्द्र यादवले आपूmलाई मन्त्रीबाट हटाउँदा अपमानजनक ढंगले हटाइएको ठाउँ ठाउँमा भन्दै पनि आएका छन् । यादव पक्षसँग १० जना सांसद छन् । यसर्थ पार्टी विभाजित हुने अबस्थामा पनि महन्थ ठाकुर र राजेन्द्र महतो समूह सरकारमा जाने सम्भावना छ । तर महन्थ ठाकुरको प्रधानमन्त्री बन्ने सम्भावना छैन भनी ठोकुवा गर्न सकिन्छ ।
माधवकुमार नेपाल: प्रधानमन्त्री ओलीविरुद्ध पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर गठबन्धन गरिरहेका नेता माधवकुमार नेपाल र उनको पक्षलाई अदालतको आदेशले अप्ठेरो पारेको छ । उक्त समूहका नेताहरूको भेलाले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी प्रधानमन्त्री ओलीको भएको टिप्पणी गरेका थिए । एमालेभित्रको अन्तरसंघर्ष जारी नै रहने ठानिएका बेला माधवकुमार नेपाल पक्षको पार्टीभित्रको जिम्मेवारी खोसेर प्रधानमन्त्री ओलीले उनीहरुलाई जिम्मेवारीबाट मुक्त गरेका छन् । उनीहरुले पाएको जिम्मेबारी ओली पक्ष र माओवादी छाडेर बसेकाहरुलाई दिइएको छ । तर प्रधानमन्त्री ओलीभन्दा कतिगुना अलोकप्रिय छु भन्ने कुरा माधवकुमार नेपालले अझै चाल पाउन सकेका छैनन् । तर देशभर सङ्गठनमा रहेको प्रभावका कारण नेपाल पक्षले आगामी मंसिरमा हुने भनिएको महाधिवेशनमा ओली समूहलाई कडा टक्कर दिने एमालेभित्र अलगधारका नेताहरुको धारणा छ । एमालेभित्र अहिले जुन अन्तर्विरोध छ, त्यो कायमै रहन्छ वा माधव नेपालले आत्मसमपर्ण गर्छन्, त्यसका लागि केही समय प्रतिक्ष गर्नै पर्छ । सत्ता र शक्ति दुवैलाई प्रयोग गर्दा पार्टीभित्र ओली थप शक्तिशाली हुने र माधव नेपाल कमजोर हुने सम्भावना चाहिँ अझै रहन्छ । किन भने माधव पक्षसँग संसदमा र केन्द्रीय कमिटीमा ४० प्रतिशत संख्या पुग्ने समभावना छैन । माओवादी केन्द्रबाट आएका नेताहरूलाई एमालेमा जिम्मेवारी दिएसँगै त्यसले पनि उक्त दलभित्रको अङ्कगणितमा प्रभाव पार्ने ठानिन्छ । त्यसर्थ माधव नेपालको तत्कालै प्रधानमन्त्री बन्ने सम्भावना नदेखिएकाले काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल देउवाको पक्षमा खुलेका हुन् । नेकपा जिवित हुँदा पौडेल माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन लागेका थिए ।
पुष्पकमल दाहाल प्रचण्ड: माओवादी केन्द्रबाट अलग भएकाहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदश्य र महत्वपूर्ण महत्वपूर्ण जिम्मेवारी दिएपछि माओवादीमा पैह्रो गएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार सर्वोच्च अदालतको पछिल्लो फैसलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केही कमजोर बनाइदिएको छ । नेकपामा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले अलग समूह बनाएर प्रधानमन्त्री ओलीको राजिनामा मागेका थिए । वाम विश्लेषकहरुका अनुसार माओवादी केन्द्र चुनाव पहिलेको स्थितिमा पुगेको बताउदै उक्त दल निर्णायक भूमिकामा रहेको देखिदैन । अहिलेको समीकरणमध्ये सबैभन्दा बढी अप्ठेरो माओवादी केन्द्रलाई हुन गएको छ । एकातिर संघठन ध्वस्थ भैसकेको छ । संसदीय राजनीतिको हिसाबले पनि अब प्रचण्ड निर्णायक रहँदैनन् । त्यसको अर्थ पहिले जसरी राजनीति प्रचण्डको वरिपरि घुम्थ्यो, अब तत्कालका लागि घुम्दैन । तर फेरि पनि माधवकुमार नेपाल र प्रचण्ड मिल्ने अवस्था भयो भने केही शाख रहन सक्छ । ओलीविरुद्धको मोर्चाबन्दी कस्न नेकपामा रहँदा पूर्व एमालेको ठूलो पंतिको साथ पाएका प्रचण्डले पूर्वमाओवादी पृष्ठभूमिका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणिचन्दा थापा, दावा लामासहित आफ्नै कतिपय निकटस्थ नेताहरूको समर्थन भने गुमाएका छन् । संसद्मा ५२ सिट रहेको उक्त समूहका नेताहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा अरू दलहरूसँग परामर्श थालिसकेको छ । माओवादीका करिब एक दर्जन सांसद घट्ने सम्भावना छ । यसर्थ पुष्पकमल दाहालको तत्काल प्रधानमन्त्री सम्भावना कमजोर भएको छ ।


