बढ्यो कोरोनाको संक्रमण, इटालीमा फेरी लकडाउन

बढ्यो कोरोनाको संक्रमण, इटालीमा फेरी लकडाउन तरुण खबर २९ फाल्गुन २०७७, शनिबार १४:२१
बढ्यो कोरोनाको संक्रमण, इटालीमा फेरी लकडाउन

६ करोड बढी जनसंख्या, संक्रमणबाट १ लाख १ हजार ५६४ को मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणको नयाँ लहरको जोखिम बढ्दै गएपछि इटालीमा पुनः प्रतिबन्धात्मक नियम लागु भएको छ । ६ करोड ३ लाख ९९ हजार ८२२ जनसंख्या भएको इटालीमा  कोरोना भाइरसका कुल संक्रमित संख्या ३१ लाख ७५ ८०७ छ । संक्रमितमध्ये १ लाख १ हजार ५६४ जनाको ज्यान गइसकेको छ । त्यसैले सोमबारदेखि इटालीका अधिकांश क्षेत्रका पसल, रेस्टुरेन्ट र विद्यालयहरु बन्द हुने भएका छन् । प्रधानमन्त्री मारिओ द्राघीले महामारीको नयाँ लहरको चेतावनी दिएपछि सोमबारदेखि विद्यालय, रेस्टुरेन्ट तथा पसलहरु बन्द गर्न लागिएको हो । इस्टरका बेला अप्रिल ३ देखि ५ सम्म पूर्ण रुपमा बन्द गरिने छ । एक वर्ष पहिले इटालीले महामारी नियन्त्रणमा लिनका लागि पहिलोपटक राष्ट्रिय तहमा लकडाउन लागु गरेको थियो ।

अहिले पनि इटालीमा संक्रमण तीव्र भइरहेको छ । १२ मार्चमा मात्र २६ हजार ८२४ कोरोना भाइरस संक्रमित थपिएका छन् भने संक्रमणबाट इटालीमा ३८० (१२, मार्च) जनाको मृत्यु भएको छ । इटालीमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुस्त भइरहेको छ । अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको खोपका कारण ब्लड क्लट बन्ने जोखिम रहेको भन्दै इटालीसहित युरोपका बुल्गेरिया, डेनमार्क र नर्वेमा पनि तत्कालका लागि सो खोप रोकिएको छ । शुक्रबार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खोपका कारण ब्लड क्लट बन्ने प्रमाण नभेएिको बताएको छ । उसले खोप अभियान नरोक्न आग्रह गरेको छ । सोमबारदेखि इटालीका रोम र मिलानसहित आधा भन्दा बढि क्षेत्रमा विद्यालय, पसल तथा रेस्टुरेन्ट बन्द हुने छन् । अत्यावश्यक कामका लागि बाहेक स्थानीय बासिन्दा बाहिर निस्कन पाउने छैनन् ।