तरुण खबर
२४ माघ २०७८, सोमबार १८:५२
काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले १८ माघमा ४ जेठ प्रस्ताव गरेको थियो ।
राष्ट्रपति चुरे संरक्षण विकास समितिका पदाधिकारी बर्खास्त
सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीलाई बर्खास्त गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका अध्यक्ष डा. किरण पौडेलसहित पाँचै जना पदाधिकारीलाई बर्खास्त गरेको हो ।
उनीहरुलाई वन मन्त्री रामसहाय प्रसाद यादवको प्रस्तावमा प्रक्रिया पूरा गरेर बर्खास्त गरिएको एक मन्त्री जानकारी दिएका छन् । बर्खास्त हुनेमा अध्यक्ष पौडेलसहित सदस्यहरु कमला ओली शिवाकोेटी, शशीकुमार शर्मा, डा. सुस्मिता ढकाल र भेषराज आचार्य छन् ।


