काँग्रेसको पहलमा अविश्वास आए पारित हुने

काँग्रेसको पहलमा अविश्वास आए पारित हुने तरुण खबर १ चैत्र २०७७, आईतवार १७:२६
काँग्रेसको पहलमा अविश्वास आए पारित हुने

काठमाडौं । नेपाली काँग्रेसको पहलमा अविश्वास प्रश्ताव आए पारित हुने राजनीतिक दलहरुले बताएका छन् । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग माधवकुमार नेपालको दूरी बढ्दै गएकाले अविश्वास प्रश्ताव पास हुने अनुमान गरिएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिन यसअघि नै आग्रह गरेका थिए । जसपाले साथ दियो भने अविश्वास प्रश्ताव पास हुने मात्र होइन शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने सम्भावना प्रवल बन्दै गएको छ ।

नेपाली काँग्रेसका ६१ सांसद, माओवादीका ५२ सांसद र जसपाका ३४ सांसद गरी १४७ मत अविश्वासतर्फ आउने देखिन्छ । त्यसमा माधवकुमार नेपाल पक्षका करिब १८ थपिने सम्भावना छ । तर माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मात्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने सम्भावना कमजोर हुने राजनीतिक विश्लेषकहरुको अनुमान छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रकृयामा गए भने विश्वासको मत लिन उनी असफल भए पनि सभापति देउवा प्रधानमन्त्री बन्ने सम्भावना कमजोर हुने बताइन्छ । शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउन उनीहरुविरुद्ध लड्नुपर्ने बेला आएको बताएका थिए ।