ओलीविरुद्ध चैत ४ र ५ गते नेपाल र खनाल पक्षको भेला

ओलीविरुद्ध चैत ४ र ५ गते नेपाल र खनाल पक्षको भेला तरुण खबर १ चैत्र २०७७, आईतवार १७:२८
ओलीविरुद्ध चैत ४ र ५ गते नेपाल र खनाल पक्षको भेला

माधव पक्षले भेला गरे ओलीद्वारा कारवाहीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका केही नेतालाई जिम्मेवारीबाट हटाएपछि माधवकुमार नेपाल र झलनाथ खनाल समूहले अनौपचारिक तथा औपचारिक छलफलमा तीव्रता बनाएका छन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले शुक्रवार बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बसी विभागीय प्रमुख तथा प्रदेश इन्चार्ज रहेका नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गरेका थिए ।

माओवादी केन्द्रबाट आएका करिब दुई दर्जन बढी नेतालाई केन्द्रीय कमिटीमा मनोनित पनि गरेको ओलीले जानकारी गराएका थिए । यसअघि नेकपाको अध्यक्ष रहदा केपी ओलीलाई पार्टी अध्यक्ष मात्र होइन साधारण सदस्यबाटै दाहाल–नेपाल समूहले निष्कासन गरेको थियो । त्यसैको बदला स्वरुप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूइतरका केही नेतालाई जिम्मेवारीबाट हटाएपछि माधवकुमार नेपाल र झलनाथ खनाल समूहले अनौपचारिक तथा औपचारिक छलफलमा तीव्रता दिएका हुन् ।

चैत ७ गतेको बैठकमा नेकपा एमालेको केन्द्रीय तहमा रहेका सबैलाई औपचारिक ढङ्गले महासचिवको तर्फबाट सूचना गरेको ईश्वर पोखरेलले बताएका छन् । चैत ७ गतेअघि नै माधव नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । भेलामा केन्द्रीय सदस्य, प्रदेश सांसद, प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष र पालिका प्रमुख तथा उपप्रमुखलाई पनि बोलाइएको छ । माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र निर्णयको विरुद्धमा कार्यदिशा तय गर्न राजधानीमा बृहत् राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको हो ।

माधव पक्षको समानान्तर कमिटी
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले केन्द्रीय कमिटी एकलौटी विस्तार गर्दै पदाधिकारी खारेज र महाधिवेशनको मिति घोषणा गरेपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समानान्तर अभ्यास थालेको छ । नेपाल समूहको स्थायी कमिटीले प्रदेशको इन्चार्जसहित नेताहरूको विभागीय जिम्मेवारी हेरफेर गरेको छ ।  नेपाल समूहले सातवटै प्रदेशको इन्चार्ज तोकेको छ । जसमा प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली तथा सुदूरपश्चिममा भीम रावल इन्चार्ज भएका छन् । महिला इन्चार्जको जिम्मेवारी पनि शाक्यलाई नै दिइएको छ भने प्रचार विभाग इन्चार्जको जिम्मेवारी योगेश भट्टराईले पाएका छन् । यस्तै, युवा इन्चार्जको जिम्मेजारी रघुजी पन्तलाई दिइएको छ भने गोकर्ण विष्टले विद्यार्थी इन्चार्जको जिम्मेवारी पाएका छन् । बुद्धिजीवी इन्चार्जमा प्रवेश हमाल चयन भएका छन् ।

कारवाही हुने प्रधानमन्त्रीद्वारा जानकारी
१११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमालेसम्बद्ध अखिल नेपाल महिला संघले शनिबार आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष ओलीले भने– ‘पेरिसडाँडाबाट रुवाबासी गर्दै हिँड्नु भएको थियो रे । केही दिन अर्याल होटलमा बास बस्नु भएको छ रे । प्रशस्त समय रहोस् भनेर ७ गते बैठक बोलाएको छु ।’ ‘७ गते केन्द्रीय कमिटी बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्यहरु आउनुहोला,’ उनले भने, ‘अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जाने बताए ।

नेपालका कम्युनिस्ट आन्दोलनलाई धरासायी बनाउन र देश तथा जनताको शक्तिलाई कमजोर पार्ने केपी ओलीको कामबाट देखिएको छ, त्यसलाई विफल पार्न कसरी अगाडि बढ्ने भन्नेबारे भेलाले निष्कर्ष निकाल्ने माधव पक्षले बताएको छ ।