तरुण खबर
१ चैत्र २०७७, आईतवार १७:३३
प्रचण्डसँग सैद्धान्तिक मत नै फरक प(योस् एमाले भित्रीएका नेताहरु
काठमाडौं । शुक्रवार एमालेले आफ्नो केन्द्रीय कमिटी सदस्य बनाएका नेकपा (माओवादी केन्द्र) का नेताहरूलाई माओवादीले निश्कासन गर्ने प्रकृया सुरु गरेको छ । माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीहरूलाई तत्काल फिर्ता आउन निर्देशन दिएको छ । र, २४ घण्टाभित्र स्पष्टिकरण दिन भनेको छ । तर अधिकांश मन्त्रीहरूले आफूहरू एमालेमै रहने बताएका छन् ।
उनीहरूले आफूहरू ’वैचारिक रूपमै’ पुष्पकमल दाहाल प्रचण्डसँग टाढिएकाले अब माओवादीमा ’फर्केर राजनीति गर्ने अवस्था नरहेको’ उनीहरुले बताएका छन् । गृहमन्त्री रामबहादुर थापासहित ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणिचन्द्र थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरी हाल एमाले नेतृत्वको सरकारमा सहभागी छन् । यीमध्ये थापा राष्ट्रियसभा सदस्य हुन् भने रायमाझी, साह, भट्ट र चौधरी प्रतिनिधिसभा सदस्य हुन् ।
माओवादी नेता झपटबहादुर बोहरा आधिकारिक रूपमा पार्टीको निर्णय थाहा नपाएको बताएका छन् । तर गत पुस २२ गते नै आफ्नो कित्ता प्रस्ट पार्दै मन्त्री पदसमेत त्यागेको उनले बताएका छन् । त्यसकारण अहिले भइरहेका कुराले कुनै माने राख्छ जस्तो मलाई लाग्दैन । पत्र प्राप्त भएपछि प्रत्युत्तर लेखेर पठाइन्छ उनले भने । पार्टीले कारबाहीसमेत गर्ने बताएका अवस्थामा के गर्नु हुन्छ ? भन्ने प्रश्नमा उने भने– मन्त्री पद छोडेको मान्छेलाई सांसद पद त गौण नै भयो नि ।
कम्युनिस्ट आन्दोलनमा जुन खालको विभाजनको स्थिति देखाप¥यो, त्यसमा हाम्रा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिएको लाइनमा वैचारिक रूपमै हाम्रा कतिपय विमति छन् । उहाँले गठबन्धन बनाउने, अङ्क जोड्ने र ’पावर गेम गर्ने’ रणनीति तयार पार्ने हुँदा त्योसँग हाम्रो राजनीतिक विमति छ– माओवादीबाट नेकपा एमालेतिर लागेका नेता धर्मराज रेग्मीले भने । तर संवैधानिक रूपमा वा कानुनी रूपमा प्रश्न देखिनेहुँदा भने हामी त्यसै अनुरूप प्रतिवाद गर्छौँ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टीबाटसमेत नेताहरू निर्वाचित भएका छन् । सूर्य चिन्हबाट राष्ट्रिय सभामा पुग्नुभएका नारायणकाजी श्रेष्ठ हुनुहुन्छ, रामबहादुर थापा हुनुहुन्छ । दुवै पार्टीमा यताउता प्रतिनिधिहरू छन् ।
दलको विभाजन असामान्य ढङ्गबाट भएको छ । त्यसोहुँदा संवैधानिक राजनीतिक र कानुनी रूपमा कसरी समाधान गर्न सकिन्छ भनेर दुई पार्टीले छलफल, गृहकार्य पनि गर्न सकिन्छ । अन्यथा हाम्रो हातमा त संवैधानिक, राजनीतिक र कानुनी रूपमा केही भैपरि आउने समस्याहरूको समुचित प्रतिवाद हुन्छ नै एमाले प्रवेश गरेका नेताहरुले भनेका छन् । आधिकारिक रूपमा पार्टी निर्देशन प्राप्त भएपछि पार्टी र सम्बन्धित प्रतिनिधिको हकमा कानुन कसरी लागु हुन्छ भन्ने विषयहरू हेरेर राजनीतिक, संवैधानिक र कानुनी दायित्वहरू पूरा गर्ने उनीहरुले बताएका छन् ।


