काठमाडौं । अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत ‘अमेरिका पार्टी’ स्थापना गरेको जानकारी दिएका हुन् । पार्टीको स्वरुप र पार्टीको नेतृत्वबारे पनि स्पष्ट भइसकेको छैन ।
अमेरिकाको फेडरल इलेक्सन कमिसनले पनि शनिबारसम्म नयाँ दल दर्ताबारे जानकारी नदिएको बीबीसीले जनाएको छ । यद्यपि मस्कले नयाँ पार्टीले अमेरिकाको द्विपक्षीय राजनीतिक दल रिपब्लिकन र डेमोक्रेटिकलाई चुनौती दिने बताएका छन् ।
सन् २०२४ को निर्वाचनको बेला मस्क डोनाल्ड ट्रम्पको प्रमुख समर्थक थिए । उनले चुनावका लागि ट्रम्पलाई २५ करोड डलर चन्दा दिएको विषयले चर्चा पाएको थियो । यदि मस्कले सहयोग नगरेको भए ट्रम्पले चुनाव नै जित्दैनथे । तर चुनाव जितेको ६ महिनामै दुवैबीच सम्बन्ध बिग्रिएको छ ।
रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि मस्क सरकारी खर्च कटौतीसम्बन्धी निकाय डोजको प्रमुखको पदमा नियुक्त भएका थिए । तर, पछि ट्रम्पसँगको आन्तरिक विवादका कारण मस्कले सो पद त्यागेका थिए । उनी डोजमा ९० दिन मात्रै क्रियाशील रहे ।
यतिबेला ट्रम्प र मस्कबीच पानी बाराबारको अवस्था छ । ट्रम्पले मस्कलाई दिइएको सबै अनुदानबारे छानबिन गरी दक्षिण अफ्रिका पठाइदिने समेत चेतावनी दिएका छन् ।